देश-प्रदेश खबर पोष्ट

‘समता कर’ खारेज गर्ने सरकारको निर्णयको गगन थापाद्वारा स्वागत

चितवन, ०५ श्रावण २०८३ — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत ‘समता कर’ लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले निरन्तर प्रश्न उठाउँदै आएको स्मरण गराएका छन्।

उनले ‘समता कर’ समानताको नाममा असमानता बढाउने नीति भएको टिप्पणी गर्दै सरकारले आर्थिक र सामाजिक यथार्थ बुझेर उक्त निर्णय खारेज गरेको बताएका छन्। साथै, सो निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया शीघ्र पूरा गर्न पनि उनले आग्रह गरेका छन्।

थापाले यससँगै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यवहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउनुपर्नेमा जोड दिएका छन्। “सरकारले आम नागरिकको मर्म बुझेर नीतिगत सुधार गर्नुपर्छ,” उनले भने।

यसैबीच, अर्को प्रसंगमा बोल्दै थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दिनको रूपमा बितेको टिप्पणी गरेका छन्। उनले उक्त अवधिमा राजनीतिक अस्थिरता, नीतिगत कमजोरी र जनअपेक्षाअनुसार काम हुन नसकेको उल्लेख गरेका हुन् ।

— — —

तपाईको प्रतिक्रिया