चितवन, ०७ श्रावण २०८३ — अन्तरराष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ।
विश्वका १२१ देशका ४७२ खेल पत्रकारको मतदानका आधारमा मेस्सी उत्कृष्ट खेलाडी चयन भएका हुन्। मतदानमा मेस्सीले एक हजार १७९ अङ्क प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अङ्क) र इङ्ल्यान्डका जुड बेलिङ्घम (४७० अङ्क)लाई पछि पारे। खेलाडीहरूको अन्तिम सूचीमा २० खेलाडी समावेश थिए।
यसैबीच, इन्टरनेशनल फेडेरेसन अफ फुटबल हिस्ट्री एण्ड स्टाटिस्टिक्स (IFFHS) ले पनि प्रदर्शन मूल्याङ्कन (Performance Index) का आधारमा लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ। उक्त सूचकाङ्क खेलाडीको प्रत्येक खेलको रेटिङ, गोल, असिस्ट तथा प्रतियोगिताभर पारेको समग्र प्रभावका आधारमा तयार गरिएको हो।

३९ वर्षीय मेस्सीले विश्वकपभर ८ गोल र ४ असिस्ट गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यद्यपि, फिफाले प्रदान गर्ने आधिकारिक गोल्डेन बल भने स्पेनका मिडफिल्डर रोड्रीले जितेका थिए।



