बारा जिल्लाको सिमरा–निजगढ क्षेत्रमा रहेका गढीमाई साझेदारी वन समूह, सहजनाथ साझेदारी वन उपभोक्ता समूह तथा तामागडी साझेदारी वन उपभोक्ता समूहमा शासन र समताको मूल्यांकन (सेज) सम्पन्न भएको छ। RECOFTC नेपालद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत सम्पन्न मूल्यांकनमा वन व्यवस्थापनमा सुशासन, समावेशिता, समान पहुँच, निर्णय प्रक्रियामा समुदायको सहभागिता, वनबाट प्राप्त लाभको न्यायोचित वितरण तथा वन संरक्षणले स्थानीय समुदायको जीवनमा पारेको प्रभावबारे विस्तृत छलफल गरिएको थियो। मूल्यांकनमा साझेदारी वन उपभोक्ता, वन प्राविधिक, स्थानीय जनप्रतिनिधि, महिला, युवा तथा अन्य सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले वन व्यवस्थापनका उपलब्धि, चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए। शासन र समताको मूल्यांकन (सेज) को उद्देश्य वन व्यवस्थापनमा सुशासन र समानतालाई सुदृढ बनाउँदै संरक्षण र समुदायको हितबीच सन्तुलन कायम गर्न आवश्यक तथ्य तथा सुझाव संकलन गर्नु रहेको आयोजकले जनाएको छ। मूल्यांकनबाट प्राप्त निष्कर्ष आगामी योजना निर्माण तथा साझेदारी वन व्यवस्थापनलाई अझ प्रभावकारी, उत्तरदायी, जीविकोपार्जनमुखी र समावेशी बनाउन उपयोग गरिने विश्वास गरिएको छ।




