चितवन, ०५ श्रावण २०८३ — बर्षायाममा हिलाम्य र अन्य समयमा धुलाम्य हुनेगरेको माडी-९, बगहीँस्थित बसपार्कको स्तरोन्नतिका लागि माडी नगरपालिकाले १० लाख रुपैंया बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले चालू आर्थिक बर्ष २०८३/८४ को नगरस्तरीय योजनाको दोश्रो सूचिमा बगहीं बसपार्क व्यवस्थापनका लागि १० लाख रुपैंया विनियोजन रहेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले जनाउनुभयो ।
भरतपुर माडी ठोरी रुटमा चल्ने सार्वजनिक सवारी साधनहरुको विश्राम वा पार्किङस्थल रहँदै आएको बगहीँ बसपार्कमा पालिकाको पर्याप्त ध्यान नपुगेको भन्दै सामाजिक सञ्जालमा गुनासो उठ्नुका साथै सार्वजनिक सुनुवाई कार्यक्रममा समेत सवाल उठ्दै आएको छ ।

बसपार्कको केन्द्रभागमा खाल्डाखुल्डी रहँदा बर्षायाममा पानी जम्न गई हिलाम्य हुनेगरेको छ । बसपार्क क्षेत्रमा अन्य पूर्वाधारहरुको समेत अभाव वा समस्या रहेको छ । रीउ नदीसंगै जोडिएको सो स्थानमा हरेक दिन दर्जनौं बसहरु रहने रोकिने गरेका छन् ।



