चितवन, ०७ श्रावण २०८३ — नेपाली राष्ट्रिय शिक्षक संगठन माडी नगरसमितिको ७औँ नगर परिषद्ले शिक्षकका पेशागत हकहित, संगठनात्मक एकता र गुणस्तरीय शिक्षाका लागि संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
माडी क्याम्पस, बसन्तपुरमा सम्पन्न परिषद् संगठनका अध्यक्ष शिवप्रसाद पाठकको अध्यक्षतामा भएको थियो। परिषदमा अध्यक्ष पाठकले संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरिका गतिविधि र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका राष्ट्रिय महाधिवेशन प्रतिनिधि रामप्रसाद भण्डारीले शिक्षक संगठन शिक्षकहरूको साझा शक्ति भएकाले सबै शिक्षक एकताबद्ध भई पेशागत हकहित र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै जिल्ला सचिवालय सदस्य दिपनाथ आचार्य, सल्लाहकार संयोजक रामबहादुर जिसी र पूर्व जिल्ला सचिवालय सदस्य भविश्वर ढकालले पनि शिक्षकबीच एकता र सहकार्यको आवश्यकता औँल्याउनुभयो । परिषदले साउन १० गते हुने २५औँ जिल्ला परिषद्मा माडीबाट उल्लेखनीय सहभागिता जनाउने समेत निर्णय भएको जनाइएको छ।



