चितवन, ०७ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’को लोकेशन सेयर गर्दै सो क्षेत्र वरपर रहनेहरूलाई सचेत रहन गर्ने रात्रीकालीन अपडेटले नागरिकहरुमा सूचनासंगै त्रास समेत बढाएको छ ।
हात्तीको लोकेशन थाहा पाएसंगै सो क्षेत्रमा सुरक्षाकर्मी वा सेनाको टोली खटाई नागरिकहरुको जिउधनको सुरक्षा दिनुपर्ने भन्दै स्थानीयले “सुरक्षाकर्मी खटिसकेकाले ढुक्क रहन भन्दै स्टाटस पोष्ट गर्न” निकुञ्ज प्रशासन र निकुञ्ज रक्षक सेनासमक्ष माग गरेका छन् ।
स्थानीय बासिन्दा बसन्तराज अर्यालले हात्तीका कारण रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको बताए । “हात्ती कहिले घरमै आएर आक्रमण गर्छ भन्ने डरले सुत्नसमेत गाह्रो भएको छ,” उनले भने, “राज्यका लागि जनताको जीवनभन्दा हात्ती महत्वपूर्ण हो कि भन्ने प्रश्न उठेको छ ।”

यस्तै, रोजिना विष्णु थापाले निकुञ्जको कार्यशैलीप्रति प्रश्न उठाउँदै हात्तीको अवस्थाबारे जानकारी पहिले नै हुँदाहुँदै पनि समयमै गस्ती परिचालन नहुने गरेको बताइन् । “घटना भएपछि मात्रै सक्रिय हुने होइन, घटना हुन नदिनु नै जिम्मेवार निकायको काम हो,” उनले भनिन् । उनका अनुसार ‘सतर्क रहनुस्’ भन्ने सूचना मात्रले जनताको जिउधन सुरक्षित हुँदैन।
अर्का स्थानीय अर्बिन पौडेलले रेडियो कलर जडान गरेर सूचना दिने मात्र पर्याप्त नभएको उल्लेख गर्दै हात्तीको लोकेशन थाहा पाउनेबित्तिकै गस्ती खटाइनुपर्ने बताए । दिलबहादुर गायकले पनि सूचना आउँदासम्म हात्ती बस्तीमै आइपुग्ने गरेको भन्दै मानव जीवनको सुरक्षामा कमजोरी देखिएको औंल्याए ।
स्थानीयवासीहरूका अनुसार कच्ची घर भएका बस्तीहरूमा जोखिम अझ बढी रहेको छ । रातिको समयमा सुरक्षाको अभाव हुँदा परिवारसहित त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।
तत्काल एस.एम.एसमार्फत सूचना प्रणाली, नियमित गस्ती परिचालन र विशेष उद्धार टोली तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले वन्यजन्तु संरक्षणसँगै मानव जीवनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माग गरेका छन् ।
— — —



