चितवन, ०८ श्रावण २०८३ — चितवनमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
भरतपुर महानगरपालिका–१६, गणेशमन्दिरस्थित रोयल फार्मासिटी औषधि उद्योगमा शुक्रबार दिउँसो करिब ३ः२० बजेको समयमा उद्योगको दोस्रो तल्लामा एसी कुलिङ ग्यास भर्ने क्रममा ‘काल्टोन फोर टेन ए’ नामक ग्यास सिलिण्डर पड्किएको हो। विस्फोट हुँदा एसी ग्यास भर्न आएका दुई जना टेक्निसियन घाइते भएका थिए।
घाइतेमध्ये भरतपुर–१२ निवासी ३० वर्षीय प्रमोद कोइरालाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते पर्सा, पर्टेर्वा गाउँपालिका–५ का २८ वर्षीय इम्तियाज देवानको अवस्था गम्भीर रहेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।




