कला-साहित्य पोष्ट

सोमेश्वरगढीमा प्राचीन शैलीको ढुङ्गे धारा उद्घाटन

चितवन, १० श्रावण २०८३ — ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सोमेश्वरगढीमा नवनिर्मित प्राचीन शैलीको ढुङ्गे धाराको अनावरण तथा उद्घाटन गरिएको छ।

दिवंगत उमाकला चापागाईँको स्मृतिमा सोमेश्वर कन्ट्राक्सन एण्ड सप्लायर्स प्रालि, समस्त चापागाईँ परिवार तथा चूडामणि, पवित्रा र सन्तोष चापागाईँको सहयोगमा ढुङ्गे धारा निर्माण गरिएको हो।

सोमेश्वरगढी संरक्षण तथा विकास समितिका अध्यक्ष पिताम्बर पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल प्रमुख अतिथि तथा माडी नगरपालिकाका नगर उपप्रमुख खेमप्रसाद महतो विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ढकालले शिलालेख अनावरण गर्नुभएको थियो भने विशिष्ट अतिथि नगर उपप्रमुख महतोले ढुङ्गे धाराको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा परिवारका सदस्य शोभाखर चापागाईँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

धारासँगै राखिएको शिलालेखमा ‘तपाईंको माया, त्याग, स्नेह र आशीर्वाद हाम्रो जीवनको अमूल्य सम्पत्ति हो, तपाईंको सम्झना हाम्रो हृदयमा सदैव अमर रहनेछ’ भन्दै दिवंगत उमाकला चापागाईँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै माडी नगरपालिका–५ का वडाध्यक्ष गणेशप्रसाद विश्वकर्मा, नगर उपप्रमुख महतो र प्रमुख अतिथि ढकालले ऐतिहासिक सोमेश्वरगढीको विकास तथा प्रवर्द्धनमा यस्ता पूर्वाधार निर्माणले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

उहाँहरूले यस्ता संरचनाले सोमेश्वरगढीको धार्मिक तथा पर्यटकीय महत्त्व थप उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति तथा पूर्व वडाध्यक्ष रामबन्धु पोखरेल, वडा सदस्यहरू फिरल महतो, इन्द्र चापागाईँ, बालकुमारी सुवेदी र बाटुली सुनार, सोमेश्वरगढी संरक्षण तथा विकास समितिकी उपाध्यक्ष ताराकुमारी विश्वकर्मालगायत स्थानीय समाजसेवी लोकनाथ लामिछाने, बलबहादुर परियारको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन कृष्णलाल न्यौपानेले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया