चितवन, १० श्रावण २०८३ — नेपाल नेत्र ज्योति संघअन्तर्गत ८ जिल्लाका २४ शाखाको समीक्षा तथा वार्षिक कार्ययोजना गोष्ठीको अवसरमा माडी आँखा उपचार केन्द्रका संयोजक श्रीप्रसाद दवाडी उत्कृष्ट शाखा संयोजकको रूपमा सम्मानित हुनुभएको छ।
दवाडीको संयोजकत्वमा सञ्चालन भइरहेको माडी आँखा उपचार केन्द्र (बसन्तपुर) ले एक वर्षको अवधिमा उल्लेखनीय सेवा प्रदान गरेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रबाट ५,११५ जनाले उपचार सेवा लिएका छन्, जसमध्ये ४,२५३ नयाँ बिरामी र ८६२ जना फलोअपका बिरामी रहेका छन्।
सेवा लिनेहरूमध्ये ३,०२९ महिला र २,०८६ पुरुष रहेका छन् भने उमेर समूहअनुसार ६६६ जना बालबालिका र ४,४४९ जना वयस्कले सेवा लिएका छन्। साथै, ७०९ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको जनाइएको छ।

दवाडीको सक्रियतामा माडीमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको र अभियानका रूपमा मोतियाबिन्दुको शल्यक्रिया सहितको शिविर सञ्चालनमा विशेष सहयोग भएको भन्दै कार्यक्रममार्फत उहाँलाई सो सम्मान प्रदान गरिएको हो।
— — —



