देश-प्रदेश खबर पोष्ट

३६ दिने विद्यार्थी आन्दोलन सफल, शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

चितवन, ०९ श्रावण २०८३ — भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। निट (NEET) परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा व्यापक जनआक्रोश बढेपछि उनले यो निर्णय लिएका हुन्।

पछिल्लो ३६ दिनदेखि जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को आह्वानमा धर्ना तथा आन्दोलन चलिरहेको थियो। आन्दोलनकारीहरूले “प्रधानको राजीनामाभन्दा कममा सम्झौता नहुने” अडान लिएका थिए। अन्ततः उनीहरूको माग पूरा भएको छ।

सीजेपीका नेता दीपकेले प्रधानको राजीनामापछि प्रतिक्रिया दिँदै भने, “मानिसहरू यो सरकारमा राजीनामा आउँदैन भन्थे। तर झुक्छ दुनिया, झुकाउने हुनुपर्छ।” उनले थपे, “यदि जनता डराउँदैनन् र सरकारसामु झुक्दैनन् भने जोकसैको पनि राजीनामा गराउन सकिन्छ। लोकतन्त्रमा डराउनुपर्ने आवश्यकता छैन।”

यस आन्दोलनमा विशेषगरी ‘जेन–जेड’ पुस्ताको सक्रिय सहभागिता देखिएको छ। सामाजिक सञ्जालहरूमा उनीहरूले बनाएका मिम, पोस्टर र कलात्मक सामग्री व्यापक रूपमा फैलिएका छन्। प्रदर्शनकारीहरूले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदी प्रति असन्तुष्टि व्यक्त गर्न कला र डिजिटल अभिव्यक्तिलाई सशक्त माध्यमका रूपमा प्रयोग गरेका छन्।

प्रधानको राजीनामापछि सीजेपीले यसलाई “विद्यार्थी आन्दोलनको जित” भन्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै “विद्यार्थी शक्ति अमर रहोस्” लेखेको छ। यो घटनाले भारतमा विद्यार्थी आन्दोलनको प्रभाव र लोकतान्त्रिक दबाबको शक्ति पुनः एकपटक उजागर गरेको छ।

तपाईको प्रतिक्रिया