चितवन, ०९ श्रावण २०८३ — भारतको हरियाना राज्यमा रेलसँग ठोक्किँदा माडी-२, भैरवपुरस्थित सुकुम्बासी शिविर टोल निवासी बर्ष ४० का प्रकाश विकको दुःखद निधन भएको छ ।
रोजगारीको सिलसिलामा विगत ६ महिनादेखि भारतमा ट्रक चालकका रूपमा कार्यरत उनको ड्युटी सकेर गाडी पार्क गरी डेरामा फर्किनेक्रममा रेलसंग ठोक्किएर घटनास्थलमै मृत्यु हुनपुगेको हो । दुर्घटनामा बि.क.को शरीर ३ टुक्रामा खण्डित भएको उहाँका छिमेकी प्रदीप बि.क.ले जनाउनुभयो ।
दुर्घटनापछि शव हाल भारत हरियानामै रहेको छ । मृतकका आफन्त भारतमा उपस्थित नभएको तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने व्यक्ति नहुँदा शव नेपाल ल्याउन कठिनाइ भइरहेको बताइएको छ ।

शव स्वदेश ल्याउन सम्बन्धित निकाय, नेपाली दूतावास तथा सरोकारवाला पक्षले आवश्यक समन्वय र पहल गरिदिन स्थानीयवासी तथा परिवारले आग्रह गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको विकको परिवारमा वृद्धवृद्धा आमाबुबा, भाइ र दिदिबहिनी रहेका छन ।



