कल्याणपुर खानेपानी समितिको सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न

289
SwadeshPost

पश्चिमी माडीको कल्याणपुरस्थित कल्याणपुर खानेपानी उपभोक्ता समितिको दोश्रो सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा परियोजनाको कुल लागत करीब ५६ लाख ७० हजार रहेकोमा हालसम्म करीब ८० प्रतिशत अर्थात ४२ लाख ७७ हजार बराबरको काम सम्पन्न भइसकेको र बाँकी काम चैत्र मसान्तभित्र पुरा गर्ने लक्ष्य रहेको सार्वजनिक गरिएको थियो । हालसम्म भन्डारण ट्याङकी, ईनार, सोलार प्रणाली जडान, पानीको पाइपलाइन बिछ्याउने काम र ७७ ओटा घरधुरीमा धारा निर्माण कार्य पुरा भएको जनाइएको हो । सार्वजनिक लेखापरीक्षण कार्यक्रममा सहभागी वाइन टु वाटर नेपालकी राष्ट्रिय व्यवस्थापक रोशनी कार्की सापकोटा ले स्थानीयले गरेको श्रमदानको उच्च मुल्यांकन गर्नुभएको थियो ।

कल्याणपुर डाँडागाउँ खानेपानी परियोजनाका लागि वाइन टु वाटर नेपालबाट करीब ३५ लाख ६८ हजार, माडी नगरपालिकाबाट ६ लाख, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिबाट १ लाख र माडी नगरपालिका वडा नं. १ कार्यालयबाट पनि १ लाख रुपैंया लागत सहभागिता रहेको छ । त्यसैगरी स्थानीय पाँचपान्डव खानेपानी उपभोक्ता समितिबाट १,१०० मिटर पाईप उपलब्ध गराइएको छ । परियोजनाको भौतिक निर्माण कार्यमा अमेरिकाबाट आएका स्वयमसेवीहरुले सघाउँदै आएका छन् ।

SwadeshPost