२ अरब रुपैंयाका योजनाहरु माडीमा पठाएको प्रचण्डको भनाइ (भिडियो सहित)

312
SwadeshPost

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी आर्थिक बर्षमै करीब २ अरब रुपैंयाका विभिन्न योजनाहरु माडीमा पठाएको जनाउनुभएको छ ।

नेकपा माडीद्वारा आयोजित माडीका नेताकार्यकर्ताहरुसंगको भेटसम्वाद एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चितवन क्षेत्र नं. ३ का संघीय सांसद समेत रहनुभएका दाहालले माडीको नदी नियन्त्रण, पर्यटन प्रवद्र्धन, सडक सञ्जाल विस्तार, कृषिको आधुनिकीकरण र शैक्षिक विकास लगायतका परियोजनाहरुमा करीब २०० करोड बजेट विजियोजन गर्न सकिएको र यो क्रम आउँदा आर्थिक बर्षहरुमा अझै बढ्ने जनाउनुभएको हो । निकुञ्ज तथा वन संरक्षण ऐनको जनपक्षीय शंसोधन गराउन सक्रिय रहेको भन्दै नेकपा अध्यक्ष दाहालले माडीको बाँदरमुढे पीडितहरुसंग गरिएको सहमती कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

निकुञ्जभित्र ओभरहेड पुल, रीउ नदीको बहुउद्देश्यीय डुयाम र माडी चक्रपथ निर्माण तथा माडीको सुकुम्बासी समस्या समाधान अबको आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उहाँले सार्वजनिक गर्नुभयो । माडीबाट भरतपुर जानआउनभन्दा भारतबाट पाकिस्तान जान आउन सहज रहेको भन्दै उहाँले त्यस्तो अवस्था संधै नरहने जिकीर गर्नुभएको थियो । माडी विकासमा केन्द्रीय सरकारका तर्फबाट भएगरेका कामहरुको लामो फेहरिस्त सुनाउँदै (संलग्न भिडियोमा हेर्नुहोस्) उहाँले यसअघि दुईपटकसम्म माडीको यात्रा स्थगन गर्नुपरेको भएपनि आउँदा दिनहरुमा माडीमा थप नयाँ कार्यक्रमहरुसहित निरन्तर आइरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले स्थानीय सरकारसंगै प्रादेशिक र संघीय सरकारको लगानीमा माडीको समग्र विकासका विभिन्न योजनाहरु अगाडी बढेकोले जनतामा सकारात्मक प्रभाव परिरहेको धारणा राख्नुभएको थियो । त्यसैगरी बिषय प्रवेश मन्तव्य राख्दै नेकपा माडीका नेता नारदमणी पौडेलले पार्टीको योजना र सरकारको लगानीमा माडीमा विकासले गति लिएपनि निकुञ्ज ऐनको कारण सिर्जित अवरोध, बाढी र जंगली जनावरको समस्या, सुकुम्बासी समस्या आदि समाधानमा ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभएको थियो ।

नेकपा माडीका कार्यालय सदस्य दण्डपाणी पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणी पोखरेल, नेकपा प्रदेश नं. ३ अध्यक्ष नारायण दाहाल, भरतपुर महानगरपालिकाका नगरप्रमुख रेणु दाहाल, प्रचण्डका स्वकीय सचिव एवं नेकपा केन्द्रीय सदस्य जोखबहादुर बुढा, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल लगायत नेकपाबाट निर्वाचित जनप्रतिनिधी र माडीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

– स्वदेश न्यूज डेस्क । २७ चैत्र, २०७५

SwadeshPost