माडीको मगोई खोलामा दुईतर्फी पक्की पुल निर्माण कार्य सुरु

165
SwadeshPost

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा दुईतर्फी पक्की पुल निर्माण कार्य सुरु भएको छ । पुल निर्माणको लागि माडी-४ को सिधुवा चोक तथा माडी-३, बघौंडास्थित आदिवासी जनजाती महासंघको भवन निर्माणस्थल क्षेत्र नजिक मगोइ खोलामा कफर ड्याम निर्माण गरी खोला तर्काइएको छ भने पिल्लरको जग राख्ने खाल्डो खन्ने काम सुरु भएको छ । संघीय सरकारको भौतिक योजना तथा यातायात मन्त्राल अन्तरगत हुलाकी राजमार्ग परियोजनाको आर्थिक लगानीमा पुल निर्माण हुन लागेको हो ।

भरतपुरस्थित सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरले मगोई खोलामा पुल निर्माणको ठेक्का पाएको हो । करीब ६ करोड ५१ लाखको लागतमा निर्माण सुरुवात भएको सो पुलमा ३ वटा पिल्लर रहने तथा पुल ९७ मिटर लामो हुने स्टीमेट रहेको ठेकदार पक्षले जानकारी दिएको छ । गत २०७४ साल असार २८ गते ठेक्का सम्झौता भएको सो पुल निर्माणको कार्यसम्पन्न गर्नुपर्ने समयसीमा दुई बर्ष तोकिएको भएपनि ढीला गरी काम सुरु भएको हो । वातावरणीय प्रभाव मुल्यांकन (ई.आई.ए.) पुरा नभएको भन्दै सो पुलको निर्माण कार्य अगाडि बढाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अवरोध गरेका कारण निर्माण कार्य सुरुवात हुन ढीलाई भएको थियो । मुख्यतः बर्षाको समयमा बाढी आउँदा सो नदीका कारण सडक यातायात प्रभावित हुँदै आएको छ ।

SwadeshPost