माडी (स्थानीय) खबर पोष्ट

माडीका तीनवटा खोलाहरुमा निर्माणाधीन पुलहरुको ई.आई.ए गरिँदै

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीका तीनवटा खोलाहरुमा निर्माणाधीन पुलहरुको वातावरणीय प्रभाव मुल्यांकन (ई.आई.ए.) प्रतिवेदन तयारीको प्रक्रिया अगाडि बढेको छ । हुलाकी सडकमा पर्ने मगोई, बगहीँ र रिउ खोलामा निर्माणाधीन पुलहरुको ई.आई.ए.का लागि सार्वजनिक सुनुवाई सञ्चालन हुन लागेको छ ।

सडक विभाग अन्तरगत योजना तथा अनुगमन महाशाखा, भू-वातावरण तथा सामाजिक शाखा प्रस्तावक रहेको सो ई.आई.ए. अध्ययनका लागि आउँदो असार २७ गते दुई स्थानमा सार्वजनिक सुनुवाई आयोजना गरिएको हो । मगोई खोलामा पुल निर्माण सम्बन्धमा सो दिन बिहान ७:३० बजे माडी नगरपालिका कार्यालयमा सार्वजनिक सुनुवाई आयोजना गरिएको छ । त्यसैगरी रिउ तथा बगहीँ खोलामा पुल निर्माण सम्बन्धमा दिउँसो ४:३० बजे माडी माडी-९, गोबिन्दबस्ती (बगहीँ)मा सार्वजनिक सुनुवाई गरिने सिद्धार्थ ईन्भाइरोमेन्टल सर्भिसेज काठमाडौंका प्रतिनिधी श्रवण कुमार घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित भई आयोजना कार्यान्वयनबाट पर्न सक्ने वातावरणीय प्रभावबारे रायसुझाव उपलब्ध गराउन प्रस्तावक पक्षले सम्बन्धित सबैमा अनुरोध गरेको छ । हाल निर्माण कार्य अगाडि बढिसकेको मगोई खोलाको पुल ९७.१ मिटर, बगहीँ पुल ७० मिटर र बगहीँस्थित रिउ नदी पुल २४० मिटर लामो हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार