नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा माडीक्षेत्रमा त्यसको सरगर्मी बढ्दो

270
SwadeshPost

हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै गर्दा देशका अन्य ठाउँहरुसंगै माडी उपत्यकामा पनि सो पर्वको सरगर्मी बढ्न थालेको छ । तीज आउन करीब एक साता बाँकी रहँदा बजारमा तीजको खरिदारी बढेको छ भने विभिन्न संघसंस्था र समूहहरुको आयोजनामा दर खाने र खुवाउने कार्यक्रम हुन थालेका छन् । गाउँघरमा समूह बनाई तीजको गीत गाउने र नाँचगान गर्ने क्रम पनि सुरु भएको छ ।

यसै सन्दर्भमा, नेपाली काँग्रेस माडीले समेत तीज विशेष शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । माडीको रामराज्यपुरस्थित स्व. कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठान परिसरमा सम्पन्न सो कार्यक्रममा काँग्रेस समर्थक महिलाहरुमाझ नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठसंगै काँग्रेस नेताहरु राजीव न्यौपाने, नीता ढकाल, लालबहादुर दवाडी, सविता बराल, शोभाखर चापागाई, साबित्री ढकाल, शिवमाया भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस्तै, माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा स्थानीय महिला समूहले तीज विशेष नाँचगान गरेको छ । कार्यक्रममा स्थानीय महिलाहरुसंगै युवा पण्डित सुदर्शन सुवेदी, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, रेवा त्रिवेणी धामका अध्यक्ष ढाकामोहन तिमिल्सिना लगायतको सहभागिता रहेको थियो । उता, तीजकै अवसरमा रेडियो माडीले माडीका विभिन्न वडाहरुमा रमाइलो तीज उत्सब सञ्चालन गर्ने क्रममा बसन्तपुरमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

SwadeshPost