बडादशैंले छोपेसंगै माडी नगरक्षेत्रमा सडक मर्मत कार्य तीब्र

145
SwadeshPost

बडादशैं पर्वले छोपेसंगै माडी नगरक्षेत्रमा सडक मर्मत कार्यले तीब्रता पाएको छ । दशैंको सन्दर्भमा सडक र यातायात सेवा सहज बनाउन माडी नगरपालिकाले बाटो मर्मत कार्य तीब्र बनाएको हो ।

घटस्थापना लगत्तै चितवन राष्ट्रिय निकुञ्जको कसरा बनकट्टा खण्ड अन्तरगत कसरा पोष्टदेखि देउराली डाँडासम्म सडक मर्मत भएको थियो । सो खण्डको काम सकिएलगत्तै शुक्रबार दिनभर र आज बिहानभर बगहीँदेखि अमुवा सडक खण्डमा समेत सडक स्तरोन्नति गरिएको छ । बाटो मर्मत कार्यमा माडी नगरपालिकाका जे.सि.बी. डोजर, ट्रिपर, ट्रयाक्टर लगायतका निर्माण साधनहरु खटिएका थिए । कसरादेखि देउराली डाँडासम्मको बिग्रिएको बाटो प्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले विनियोजन गरेको १८ लाख रुपैंया बजेटबाट मर्मत गरिएको हो भने बगहीँ अमुवा खण्डमा माडी नगरपालिकाले आन्तरिक श्रोतबाटै बाटो मर्मत गराएको जनाइएको छ ।

यसैबिच, नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत बरुवा बजार नजिकैको चितई खोलामा रहेको हिलाम्य बाटो पनि मर्मत भएको छ । माडी नगरपालिका १ नं. वडा कार्यालयले सो हिलाम्य खण्डमा ग्राभेल राखी मर्मत गराएको हो । बाटो हिलाम्य हुँदा दुईपाङ्ग्रे सवारी साधन र पैदल यात्रुहरु प्रभावित हुँदै आएका थिए ।

SwadeshPost