दिवाकर स्मृति ग्रन्थ लोकार्पण र भुसालको शालिक अनावरण सम्पन्न

547
SwadeshPost

माडीका जनप्रीय नेता दिवाकर भुसालको १६औं स्मृति दिवसका सन्दर्भमा भुसालको शालिक अनावरण एवं दिवाकर स्मृति ग्रन्थ पुस्तक लोकार्पण गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यालय, चितवनको आयोजनामा माडी क्याम्पसमा सञ्चालित कार्यक्रममा नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, महासचिव विष्णु पौडेल लगायत नेकपाका प्रदेश र जिल्लास्तरका नेताहरुको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम सुरु हुनुअघि प्रचण्डले शालिक ढाकिएको रातो कपडा हटाई शालिक अनावरण गर्नुभएको थियो भने कार्यक्रमकै अवधीमा उहाँले पुस्तकको विमोचन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाशले समाजवादी राज्य व्यवस्था स्थापना गरेमात्रै दिवाकर भुसालप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । स्थानीय, प्रादेशिक र संघीय सरकारलाई सफल बनाउन सबैले भूमिक खेल्नुपर्ने भन्दै उहाँले नेकपा पार्टीमा भइरहेको भ्रष्टीकरण अन्त्यमा लाग्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव बिष्णु पौडेलले माडीवासीहरुले जनप्रतिनिधीका रुपमा प्रचण्डलाई पाउनु सौभाग्यको कुरा रहेको भन्दै माडीलाई मणी बनाउन अर्को निर्वाचन कुर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै माडीका नगरप्रमुख एवं नेकपा प्रदेश कमिटि सदस्य ठाकुर प्रसाद ढकालले निकुञ्जको समस्या समाधानका लागि तत्काल पहल हुनु जरुरी रहेको बताउनुभएको थियो । कार्यक्रम नेकपा चितवनका अध्यक्ष यामबहादुर परियार इन्द्रजीतको अध्यक्षतामा सञ्चालित भएको हो ।

SwadeshPost