आफूमाथि हमलाको मुख्य योजनाकार सन्तोष पनेरु रहेको ज्ञानेन्द्र शाहीको आरोप

166
SwadeshPost

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले आफूमाथि भएको कुटपीट घटनाको मुख्य योजनाकारका रुपमा माडीका युवा नेता सन्तोष पनेरुलाई आरोपित गरेका छन् ।

शाहीले केहि युट्युब च्यानलहरुलाई अन्तरवार्ता दिँदै गत महिना भरतपुरको ग्लोबल होटलमा भएको हमलाको मुख्य योजनाकारका रुपमा पनेरुलाई आरोपित गरेका हुन् । विगतमा माओवादी केन्द्र निकट युवा संगठन वाई.सि.एल. नेपालका केन्द्रीय सदस्य रहेका पनेरु हाल नेकपा सम्बद्ध युवाहरुको संगठनको केन्द्रीय सदस्य रहेका छन् । पार्टीभित्र उनी भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहाल र प्रचण्ड पक्षीय मानिन्छन् ।

यसअघि, शाहीमाथिको आक्रमणको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका ११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् । तर शाही स्वयम्ले भने पोख्रेल मुख्य दोषी नभई पनेरु दोषी रहेको तर उनी निस्फिक्री देशका विभिन्न पर्यटकीय केन्द्रहरु घुम्दै हिँडिरहेको आरोप लगाएका छन् ।

चितवन प्रहरीलाई हाल पनेरुलाई पक्राउ गर्नुपर्ने दबाब रहेको छ । गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा.३ ख. ८४५८ नम्बरको माइक्रो बसमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो ।

SwadeshPost