माडीको छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन सेन्टर तयार

611
SwadeshPost

समुदायमा कोरोना संक्रमणको सम्भावना बढेसंगै माडी नगरपालिकाले छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन सेन्टर तयार गरेको छ ।

सशस्त्र प्रहरी बलको छरछरे बि.ओ.पी. क्याम्प नजिकै गतबर्ष बनेको होमस्टेका भवनहरुलाई अस्थायी आइसोलेशन सेन्टर बनाइएको हो । माडीमा कोरोनाका नयाँ संक्रमित भेटिए सोही सेन्टरमा राखी उपचार गरिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो । नगरप्रमुख ढकालका अनुसार सो सेन्टरमा हाल २० जनासम्म संक्रमितहरुलाई राखी उपचार गर्न सकिन्छ । यसअघि माडी क्याम्पसको भवनमा आइसोलेशन सेन्टर बनाई माडीमा भेटिएका कोरोना संक्रमितहरुको उपचार गरिएको थियो । परिस्थिति सहज हुनसके क्याम्पसमा नियमित कक्षा सञ्चालन गर्नुपर्ने भएकाले क्याम्पस भवनको सट्टामा माडी-५, छरछरेमा आइसोलेशन बनाइएको नगरपालिकाले जनाएको हो ।

यसैबिच, चितवनका अन्य स्थानीय तहहरु समेत धमाधम आइसोलेसन उपचार केन्द्रहरु बनाउन शुरुआत गरेका छन् । भरतपुर महानगरपालिकाले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा आइसोलेसन तयार गर्दैछ । त्यसैगरी रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले संयुक्त व्यवस्थापन गर्ने गरी रत्ननगर–५ झुवानीमा आइसोलेसन सेन्टर तयार भएको छ ।

SwadeshPost