चितवन । चर्चित धार्मिकस्थल देवघाटमा देवघाटधाम एकदिवसीय गण्डकी परिक्रमा महोत्सव गरिने भएको छ ।
पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकी संगम क्षेत्रमा एकदिवसिय देवघाटधाम गण्डकी परिक्रमा महोत्सव गरिने जनाइएको छ । मंसिर १ गते कार्तिक शुक्ल वैकुष्ठ चतुर्दशीका दिन समायोजित एकदिवसिय देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।
महोत्सवमा तनहुँ, चितवन र नवलपुरका विभिन्न धार्मिक क्षेत्रहरुको परिक्रमा गरिने तालिका रहेको छ । देवधामको पूणर् परिक्रमा, दुर्लभ देवनदीहरुको पुजन, सिद्ध हरिहर क्षेत्रको भ्रमण, धार्मिक नगरी नारायणगढको अवलोकन, प्रसिद्ध मौलाकालिका भगवतीको दर्शन, रमणीय पर्वतको परिक्रमा, धार्मिक पर्यटनको प्रवर्धन र वैदिक सनातन धर्म र संस्कृतिको प्रचार-प्रसार लगायतका कार्यक्रम रहेका छन् ।
एकदिवसिय देवघाटधाम गण्डकी परिक्रमा महोत्सवको पुर्व सन्ध्यामा भएको छलफलमा गलेश्वर आश्रमका महामण्डलेश्वर आत्मानन्द गिरीले धार्मिक एवं ऐतिहासिक पवित्र तीर्थस्थल देवघाटको वारेमा जानकारी गराउनुभएको थियो । साथै गिरीले एकदिवसिय देवघाटधाम गण्डकी परिक्रमा महोत्सवले निरन्तरता पाए १५ दिने या १ महिने यात्रा वनाउन सकिनेमा जोड दिनुभयो । यात्रीहरुलाई कठिन नहोस भनि आयोजकले विशेष ध्यान पुराउनुपर्ने गिरीले वताउनुभयो ।
सोही कार्यक्रमलाई सम्वोधन गदैं देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाँउपालिकाले यस कार्यक्रमलाई गहनाको रुपमा लिएको बताउनुभयो । साथै थापाले गाँउपालिकाले अपनत्व लिएको र आफु यस कार्यमा निरन्तर लागिपर्ने भन्नुभयो । कोभिडले प्रभावित पारेकाले यस कार्यक्रम अहिले गर्न लागिएको तर यस कार्यक्रमको परिकल्पना वि.स. २०७६ मा लिएको बताउनुभयो ।
सोही कार्यक्रममा देवघाट गाँउपालिका प्रवक्ता एवं देवघाट गाँउपालिका ५ वडाअध्यक्ष याल बहादुर गुरुङ, नेकपा एमाले देवघाट गाँउपालिका अध्यक्ष केशवचन्द्र न्यौपाने, नेपाली काँग्रेस देवघाट उपसभापति पुरुषोत्तम पण्डित, नेकपा माओवादी केन्द्रका प्रतिनिधि जयकृष्ण सुवेदी, देवघाट क्षेत्र विकास समितिका निर्वतमान अध्यक्ष शिवराज पौडेल, देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष गुरुप्रसाद सुवेदी लगायतले मन्त्वय ब्यक्त गर्नुभएको थियो । कार्यक्रम देवघाट क्षेत्र विकास समितिका अध्यक्ष वद्रीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।