२६ फागुन, माडी । नेपाली कांग्रेस माडीले ‘वडा सभापति स्तरमा’ हालैको प्रतिनिधिसभा निर्वाचनमा भएको चुनाबी पराजयको समीक्षा गरेको छ । ‘विगतमा रुख चिन्ह नहुँदा असन्तुष्ट रहने कांग्रेसजनले अहिले रुख चिन्ह हुँदा पनि किन मत दिएनन् भन्दै समीक्षा गरिएको’ कांग्रेस माडी नगर सभापति कोमलनाथ भुसालले बताउनुभयो ।
सोमबार पार्टी सम्पर्क कार्यालय पूर्वी बसन्तपुरमा बसेको समीक्षा बैठकले ‘देशैभर नेगेटिभ भोटिङको सुनामी आएको र जनतामा रहेको असन्तुष्टीको मत घण्टीमा सोझिएकाले कांग्रेस पराजित हुनपुगेको’ निष्कर्ष निकालेको हो ।
बैठकले मुख्यतः ‘विदेशमा रहेका छोराछोरीले गाउँघरमा घण्टीमै भोट हाल्न दबाब दिएको, जनताले युवा उम्मेदवार खोजेको अवस्थामा कांग्रेस उम्मेदवार अघिल्लो पुस्ताको रहेको, केहि पार्टी सदस्यहरुले समेत असहयोग गर्दै भोट नदिएको’ लगायतको निर्क्यौल गरेको बुझिएको छ ।

‘अबका दिनमा पार्टीमा सुधार गर्दै निराशा हटाउने र कमीकमजोरी सुधार्न लागिपर्ने’ बैठकले प्रण गरेको जनाइएको छ । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार टेकप्रसाद गुरुङले माडी नगरपालिकाबाट १०२२ मत र निर्वाचन क्षेत्रभरी ८३४४ मत पाउनुभयो । समानुपातिक तर्फपनि कांग्रेसले माडीबाट १२०६ र भरतपुर क्षेत्रबाट ७९३४ गरी ९१४० मत ल्याएको छ ।



