चितवन । कार्यकाल सुरु भएदेखि १०० दिन पुरा हुँदा माडी ८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीले स्वास्थ्य, शिक्षा र सडक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्नुभएको छ ।
वडाध्यक्ष भण्डारीले अयोध्यापुरी स्वास्थ्य चौकीमा गई उपचार गराउने वडाबासीहरुको रगत, दिशा, पिसाब, खकार लगायत हरेक प्रयोगशाखा परीक्षण वडाले भुक्तानी गर्नेगरी निःशुल्क गर्नुभएको छ ।
त्यसैगरी माडी क्याम्पस बसन्तपुर र र दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा अध्ययनरत सबै विद्यार्थीहरुलाई यातायात शुल्क वडाबाट भुक्तान हुनेगरी निःशुल्क गर्नुका साथै सो शिक्षालयमा पढ्ने सबै र सो क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुलाई १०/१० हजार छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको छ ।
यसबाहेक चौकीडाँडा जाने बाटो मर्मत, जीवनपुर तीनघरेमा बाढीबाट बस्ती जोगाउन ग्याबिन जाली र तल्लो जीवनपुरमा खानेपानीको समस्या समाधानका लागि पहल गरिरहेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।