चितवन । माडी नगरपालिकाले निर्धारित मितिसम्म सडक निर्माण कार्य सम्पन्न नगरी अलपत्र पारेका माडीका १ सहित ४ वटा निर्माण कम्पनीहरुलाई कालोसूचिमा राखी ठेक्का रद्द गरेको छ ।
नगरपालिकाले माडीको पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्स सहित भरतपुरस्थित जस्ना कन्स्ट्रक्सन र इच्छाकामना निर्माण सेवा तथा दाङको भवनी निर्माण सेवालाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन गत श्रावण ५ गते सार्वजनिक सुचना गरेकोमा चित्तबुझ्दो जवाफ प्राप्त नभएको भन्दै ठेक्का रद्द गरेको हो ।
नगर कार्यपालिकाको बैठकले विगतका वर्षहरुमा विभिन्न योजनाहरुको ठेक्का सम्झौता पश्चात योजनाहरु सम्पन्न नगरी अलपत्र पारेका ठेकेदारहरुलाई सार्वजनिक खरिद नियमावली २०७६ को नियम १५२ को उपनियम ४ वमोजिम १ वर्ष कालोसूचीमा राखी कानून बमोजिम ठेक्का रद्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जनाउनुभयो ।
ठेक्का सम्झौता तोडिएको पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्सले खरकट्टा गेटदेखि शिवद्वार र अम्बावास चोकदेखि कुन्तिपुर सडक, दाङको भवानी निर्माण सेवाले तमुचोकदेखि पुष्पमदन वाटिका सडक तथा भरतपुरको इच्छाकामना निर्माण सेवाले गोविन्दबस्तीदेखि कान्छी बगही सडक एवं जस्ना कन्स्ट्रक्सनले वडा नं. १ देखि ८ का विभिन्न सडक खण्ड कालोपत्रेको ठेक्का पाए अलपत्र छाडेका थिए ।