चितवन । गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गई सम्पर्कविहीन भएका माडीका ३ युवाहरु भेटिएका छन् ।
शनिवार बिहान घर नजिकैको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा माछा मार्नका लागि निक्लिएका माडी नगरपालिका वडा नं. २, सितलपुर निवासी बर्ष ३० का राजु परियार, बर्ष २८ का साजन परियार र बर्ष २५ का रमेश परियार घर नफर्की शनिवार बिहानदेखि बेपत्ता भएका थिए ।
उनीहरुको खोजीमा ६ जना शसस्त्र र ७ जना जनपद प्रहरीका साथै १६ जना स्थानीय गाउँलेहरुको टोली परिचालन भएको थियो । उद्धार भइ घर फर्किएसंगै जंगलभित्र बाटो बिराएको, मोबाइलको चार्ज सकिएको र राती अँध्यारो हुँदा घर फर्किन नसकेको उनीहरुले बताए ।
उनीहरु चुरेको डाँडोमा पुगेसंगै बाटो बिराउनाले भारततर्फ लागेका थिए । बिहान उज्यालो भएसंगै पुन नेपालतर्फ डाँडो उक्लिएका उनीहरुलाई माडीबाट गएको खोजी टोलीले जंगलको बिचमा भेटी सकुशल उद्धार गरेको हो ।