

चितवन । जीवनपुरदेखि बगहीँसम्म पुग्ने हुलाकी बाटोमा आगामी असोज ६ गतेभित्र कालोपत्रे नगरिए ठेकदारलाई जनस्तरबाट नैतिक कारवाही हुने भएको छ ।

माडी-८ को वडा कार्यालयमा वडा नं. ८ र ९ का वडाध्यक्षद्वय क्रमशः वीरेन्द्र बहादुर भण्डारी र घनश्याम दवाडीसहित समृद्धिका लागि युवा अभियानका अभियन्ताहरु र स्थानीय राजनैतिक तथा सामाजिक अगुवाहरुको बैठकले ठेकदारलाई नैतिक दबाब दिने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार आगामी २०८१ असोज ५ गतेसम्म काम (सुरु) नभए माडी-९ स्थित बगहीं बसपार्कबाट नैतिक दबाबमूलक प्रदर्शन सुरु गरी माडी-८, जीवनपुरसम्म जनप्रदर्शन गरिने जनाइएको छ ।

बैठकको निर्णय पुस्तिकामा शब्द स्वरूप नलेखिएपनि असोज ५ गतेभित्र सडकमा कालोपत्रे नगरे ठेकदारको फोटो सार्वजनिक स्थानहरूमा टाँस गरी त्यसमा गोबर वा हिलो छ्याप्नेदेखि जनस्तरबाट (जुनसुकै) प्रकारको प्रतिकात्मक बिरोध प्रदर्शन गरिने समृद्धिका लागि युवा अभियानका एक अभियन्ता रामचन्द्र लम्सालले बताउनुभयो ।