माडी, चितवन । निर्धारित मितिभन्दा ५ बर्ष बढी समय लगाई माडीको मगोई खोलामा पुल निर्माण सम्पन्न भएको छ ।
नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा कार्तिक अन्तिम साता पुल निर्माण कार्यले पूर्णता पाएको हो । दुई बर्षे निर्माण समयसीमा तोकिई २०७४ साल असार २८ गते ठेक्का सम्झौता भएको सो पुल दुई बर्षको ढिलाई पश्चात २०७६ बैशाख पहिलो साता निर्माण सुरुवात भएको थियो ।
कहिले वातावरणीय प्रभाव मुल्यांकन (ई.आई.ए.) पुरा नभएको भन्दै चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अवरोध गर्ने र कहिले ठेकदार पक्ष सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरले निर्माण कार्य रोक्ने गर्नाले निर्माण कार्यमा निरन्तर ढिलाई हुँदै आएको थियो ।
मुख्यतः बर्षाको समयमा बाढी आउँदा सो नदीका कारण सडक यातायात प्रभावित हुनेगरेको थियो । सो अवधीमा सवारी साधनहरु पानीमै हेलिएर खोला वारपार गर्नुपर्दा दुर्घटनामा पर्ने, फँस्ने, टुटफुट हुने र बाढी आउँदा यातायात अवरुद्ध नै हुने अवस्था रहेको थियो ।
संघीय सरकारको भौतिक योजना तथा यातायात मन्त्राल अन्तरगत हुलाकी राजमार्ग परियोजनाको आर्थिक लगानीमा सो पुल निर्माण भएको हो । सुरुवाती लागत ६ करोड ५१ लाख रुपैंया रहेको सो पुलमा ३ वटा पिल्लर रहेको छ भने लम्बाई ९७ मिटर रहेको ठेकदार पक्षले जानकारी दिएको छ ।