माडी, चितवन । भरतपुर माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको पतरे खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ ।
लोहनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते ३ करोड ८४ लाख २५ हजार ४६१ रुपियाँमा ठेक्का सम्झौता भई ढिलागरी निर्माणकार्य सुरु भएकोमा पटक पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न नसक्दा आयोजना नै अलपत्र परेको हो ।
जमीनमुनी गर्नुपर्ने (बेस लेबल) को काम चार बर्षअघि नै सकिएपनि अन्य निर्माण कार्य अगाडि नबढ्दा पुलमा राखिएका रड खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् भने निर्माण सकिएका संरचनाहरु झाडीले ढाक्न थालेको देखिन्छ ।
लोहनी ब्रदर्सले हाल पेट्टी (अर्को) ठेकदारलाई जिम्मेवारी सुम्पिएको भनिएको सो पुल निर्माण अगाडि बढाउन माडी क्षेत्रमा जनप्रतिनिधि र जनस्तरबाट व्यापक दबाब दिइएपनि ठेकदार पक्षले निरन्तर लापरवाही र बेवास्ता गरिआएको छ । मुख्यतः वर्षा बाढीको समयमा सो खोलामा आउने बाढीको समयमा सवारी सधान र यात्रुहरुले सास्ती भोग्ने अवस्था रहेको छ ।