

माडी, चितवन । माडी-३, बैराठ गाउँस्थित थारु समुदायको पुरानो मन्दिर बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

बैराठ धुनी धेरै पहिलेदेखि आदिवासी थारु समुदायको आस्थाको केन्द्रका रूपमा रहेपनि हाल संरक्षणको अभावमा ओझेलमा परेको अवस्था छ । सो धुनीको बाँकी जग्गा संरक्षण एवं त्यसको विकासकाका निम्ति सहयोग जुटाउन बैराठ धुनी संरक्षण तथा विकास समितिको आयोजनामा महायज्ञ हुने भएको हो ।

समितिको आइतबार बसेको बैठकले आउँदो माघ दोश्रो साता श्रीमद्भागवत् ज्ञान महायज्ञ आयोजना गर्ने र त्यसका लागि पौष १५ गते स्थानीयबासीहरुको बृहत् भेलाबाट आयोजक समिति गठन गर्ने पनि निर्णय भएको समितिका अध्यक्ष नारायण प्रसाद महतोले बताउनुभयो ।

त्रिवेणी र सोमेश्वर धामसंग सिधै सम्बन्ध रहेको सो धुनी धार्मिक पर्यटनको एक महत्वपूर्ण केन्द्र हुनसक्ने भन्दै माडीका युवा पण्डित सुदर्शन सुवेदीको मुख्य वाचनमा सप्ताह सञ्चालन गर्न लागिएको माडीका धार्मिक अगुवा टिकाराम भट्टराईले जनाउनुभयो ।