माडी, चितवन । माडीको अग्रणी शैक्षिक संस्था ‘माडी माध्यमिक विद्यालय’, बसन्तपुरको ५३औं बार्षिकोत्सवका अवसरमा उत्कृष्ट विद्यार्थी, अभिभावक एवं पूर्व कर्मचारीहरु सम्मानित भएका छन् ।
शनिवार विद्यालय प्राङ्गणमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयका पूर्व लेखापाल विश्वेश्वर चौधरी र पूर्व कार्यालय सहयोगी खरिलाल पराजुलीलाई सम्मान गरिएको हो । त्यस्तै, पूर्व कार्यालय सहयोगी दिवंगत रामकृष्ण महतोलाई (मरणोपरान्त) सम्मानित गरिएको थियो ।
यसबाहेक, माध्यमिक शिक्षा परीक्षामा माडीकै उत्कृष्ट नतिजा ल्याउनुभएका छात्रद्वय अर्पण ओझा र सुशान्त शर्मा एवं कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुभएका उज्वल चपाई, अंकिता गौतम, सन्देश महतो, विपिन पोख्रेल र आकृति महतोलाई र उत्कृष्ट अभिभावकका रुपमा सुनिता बि.क.लाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ति चौधरीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा माडी नगरप्रमुख ताराकाजी महतोको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति देखाउनुका साथै स्काउट टोलीले कवाज र पिरामिड प्रदर्शन समेत गरेको थियो ।