चितवन खबर पोष्ट

राप्रपाबाट गरिएको विद्रोहलाई जनताले अनुमोदन गरेको श्रम संस्कृति पार्टीका पारस गुरुङको जिकिर

२६ फागुन, माडी । प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट श्रम संस्कृति पार्टीका प्रत्यासी तोजमान (पारस) गुरुङले राप्रपाबाट गरेको आफ्नो विद्रोहलाई जनताले अनुमोदन गरेको जिकिर गर्नुभएको छ।

निर्वाचनपछि जारी गरेको वक्तव्यमा गुरुङले विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रहँदा देखिएका बेथिति र विसंगतिको विरोध गर्दै पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा आवद्ध भएको उल्लेख गर्नुभयो। छोटो अवधिमै श्रम संस्कृति पार्टीको उम्मेदवारका रूपमा उल्लेख्य मत दिएर आफ्नो विद्रोहप्रति जनताले अनुमोदन गरेको उहाँले बताउनुभयो।

गुरुङका अनुसार माडी नगरपालिका र भरतपुर महानगरपालिकामा श्रम संस्कृति पार्टीको नगर समिति गठन नभएको अवस्थामा पनि पार्टीले पाएको मतले कार्यकर्ता तथा समर्थकलाई उत्साहित बनाएको छ। उहाँले आफूलाई मत दिने सम्पूर्ण मतदाता, निर्वाचन आयोगका कर्मचारी तथा सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त समेत गर्नुभएको छ।

चितवन–३ बाट निर्वाचित विजेतालाई बधाई दिँदै उहाँले उपविजेता सहित सबै प्रतिस्पर्धी उम्मेदवार तथा मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको छ। साथै गणतन्त्र, समावेशिता, संघीयता र ‘हर्कवाद’ प्रति एकाकार भई नयाँ नेपाल निर्माणको श्रममय यात्रामा सहभागी हुन सबैलाई आग्रह समेत गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार