अपराध खबर पोष्ट

माओवादी सशस्त्र युद्धको समयमा बाँदरमुढे विष्फोट भएको घटना एक्काइस बर्ष पुरा

२३ जेष्ठ, चितवन — तात्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटको घटना भएको एक्काइस बर्ष पुरा भएको छ ।

वि.सं. २०६२ साल जेठ २३ गते बगहीं बसपार्कबाट भरतपुरका लागि छुटेको बस बिहान करीब ८ बजेको समयमा खचाखच (बसभित्र र छतमा समेत गरी ११० जना) यात्रुहरु सहित विस्फोटमा पर्दा तात्कालीन शाही नेपाली सेनाका ३ जवानहरू सहित घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए ।

घटनामा घाइते भएका थप ४ जनाको समयक्रममा मृत्यु भइसकेको छ । घटना भएको एक बर्षपछि मृतकका परिवार र घाइतेहरु बाँदरमुढे घटना पीडित समिति गठन गरी न्यायको खोजी गरिआएका छन् । पीडित परिवारको आक्रोश र पीडा अझै शान्त भएको छैन ।

घटनाको करीब एक दशकपछि तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ मंसिर १७ गते पीडित पक्षसंग गर्नुभएको सहमती पूर्णरुपमा लागु हुन सकेको छैन । दुबै पक्षबीच मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई निःशुल्क शिक्षा दिने लगायतका सहमती भएको थियो ।

यसैबिच, बाँदरमुढे घटना पीडित समितिले शनिबार (आज) बिहान बाँदरमुढे स्मारकको सरसफाइ गरि श्रद्धाञ्जली दिने कार्यक्रम रहेको समिति उपाध्यक्ष कृष्ण अधिकारीले बताउनुभयो । समितिले हरेक बर्ष जेष्ठ २३ गते बाँदरमुढे घटना स्मृति दिवस मनाउने गरेको छ ।

तपाईको प्रतिक्रिया