माडी क्षेत्रमा गैरसरकारी संघसंस्थाहरुको संख्या, सक्रियता र बजेट घटदो

515
SwadeshPost

माडी नगरपालिका क्षेत्रमा गैरसरकारी संघसंस्थाहरुको संख्या, सक्रियता र बजेट घटदो क्रममा रहेको देखिएको छ । विगतमा चारवटा गाउँ विकास समितिमा बाँडिएको समयमा माडी उपत्यकामा स्थानीय तथा राष्ट्रिय स्तरका गैरसरकारी संघसंस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु अत्यधिक क्रियाशील रहेका थिए । चारवटा गाउँ विकास समिति जोडिएर माडी नगरपालिका घोषित हुँदा माडीमा करीब ६ करोड सम्मको बजेट सहित गैरसरकारी संघसंस्थाहरु क्रियाशील रहेको तथ्यांक छ ।

हाल माडी नगरपालिकामा क्रियाशील ८ वटा गैरसरकारी संस्थाहरु माडी नगरपालिकाको सम्पर्कमा आएको नगरपालिका कार्यालयले जनाएको छ । आठवटै गैरसरकारी संस्थाहरुको कार्यक्रमिक बजेटको योगफल करीब ४ करोड मात्र पुग्ने देखिन्छ । हाल क्रियाशील गैरसरकारी संस्थाहरु मध्ये विपद् व्यवस्थापनमा काम गरिरहेको नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.) ले सर्बाधिक २ करोड २० लाख १ हजार बराबरको वार्षिक बजेट परिचालन गर्ने जनाएको छ ।

आर.आर.एन.का परियोजना संयोजक रवीन्द्रसिंह ठकुरीका अनुसार बाँदरमुढे खोलामा १ हजार ५ सय २० मिटर दूरीमा चेक ड्याम सहित तारजाली तटबन्धन हुँदैछ । यस्तै मजुवादेखि रामराज्यपुर सडकमा रिभर क्रसिङ निर्माण, ६ स्थानमा पानी निकास नियन्त्रणका लागि संरचना निर्माण हुने जनाइएको छ । स्थानीय विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय विपद् व्यवस्थापन समितिलाई क्षमता अभिवृद्धि तालिम, १० विद्यालयमा विपद् व्यवस्थापनबारे कार्यक्रम सञ्चालन गर्ने साे संस्थाले जनाएको छ ।

गतबर्षदेखि माडीमा काम सुरूवात गरेकाे संस्था वाइन टु वाटर नेपालले यो वर्ष माडी–१, कल्याणपुरमा ६० लाखको लागतमा खानेपानी आयोजना निर्माण गर्न लागेको छ । १ सय घरधुरीलाई शुद्ध पिउनेपानी पुर्याउन यो आयोजनाले सघाउने संस्थाका अभिषेक बस्नेतले जानकारी दिनुभयो । यसअघि याे संस्थाले माडी–९, राइटोलमा ७१ घरधुरीलाई बोरिङमार्फत तानेको पानी वितरण गर्नेगरी आयोजना सञ्चालन गरेको थियो ।

अर्काे संस्था, सामरी उत्थान सेवाले माडीकाे ७, ८ र ९ का वडामा २७ लाख ५० हजार बराबरको आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संस्थाका नवराज आचार्यले समूह बनाएर व्यवसायीक पशुपालन, कृषिमा सघाउने बताउनुभयो । त्यस्तै, के.आई. नेपालले यो वर्ष १७ लाख ५३ हजार बराबरको काम गर्ने संस्थाका फिल्ड स्टाफ सपना श्रेष्ठले जानकारी दिनुभयो । यो संस्थाले मानव बेचविखनविरुद्धको जनचेतना अभिवृद्धि, सुरक्षित वैदेशिक रोजगारीबारे परामर्शसम्बन्धी गाउँटोलमा पुगेर कार्यक्रम गर्दैछ । त्यस्तै सीप नेपालले युवा सहभागितामा सरसफाइ अभियान, माडी–३ मा होमस्टे निर्माण, नमूना गाउँ निर्माणमा लाग्ने गरी कार्यक्रम बनाएको छ ।

माडीमा प्रजनन् स्वास्थ्यमा क्रियाशील संस्था बहुउद्देश्यीय स्रोत केन्द्र माडीले यो वर्ष ११ लाख बराबरको कार्ययोजना बनाएको छ भने महिला अधिकारको क्षेत्रमा क्रियाशील चितवन सक्रिय महिला प्रतिष्ठानले ९ लाख ९५ हजार खर्चिने जनाएको छ । त्यसैगरी मानव बेचविखनविरुद्ध क्रियाशील थ्री एञ्जल्स नेपालले सचेतनामूलक कार्यक्रम, छलफल लगायतका कार्यक्रम गर्ने गरी जिल्लाभरि काम गर्ने गरी बनाइएको ११ लाख ६५ हजार बजेटमध्ये झण्डै आधा बजेट माडीमा लगानी गर्ने योजना रहेको जनाएको छ । यी बाहेक स्थानीय स्तरमा माडीमा विभिन्न क्लब, समूह र संघसंस्थाहरू दर्ता वा क्रियाशील रहेका छन् तर नियमित परियाेजना भने सञ्चालन गरिरहेका छैनन् ।