चितवन खबर पोष्ट

माडी आँखा उपचार केन्द्रबाट एक वर्षमा ५,११५ जनाले लिए सेवा, ७०९ जनामा मोतियाबिन्दु पहिचान

चितवन, ०९ श्रावण २०८३ — माडीको बसन्तपुरस्थित माडी आँखा उपचार केन्द्रबाट १ बर्षको अवधिमा ५ हजार ११५ जनाले उपचार सेवा लिएका छन् । उपचारका लागि आएका बिरामीमध्ये ७०९ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ ।

चितवनको सौराहामा शुक्रबार सुरु भएको नेपाल नेत्र ज्योति संघअन्तर्गत ८ जिल्लाका २४ शाखाको आ.व. २०८२/८३ को समीक्षा कार्यक्रममा बोल्दै माडी आँखा उपचार केन्द्र सहयोग समिति संयोजक श्रीप्रसाद दवाडीले सो जानकारी सार्वजनिक गर्नुभयो ।

केन्द्रमा ४ हजार २५३ नयाँ बिरामी र ८६२ जना फलोअपका लागि आएको तथा सेवा लिनेमध्ये ३ हजार २९ महिला र २ हजार ८६ पुरुष रहेका हुन् । उमेर समूहअनुसार ६६६ जना बालबालिका र ४ हजार ४४९ जना वयस्कले सेवा लिएको उहाँले जनाउनुभयो ।

गोष्ठीमा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा भरतपुर आँखा अस्पताल र त्यसअन्तर्गतका २४ शाखाबाट २ लाख ९२ हजार ६७१ जनाले आँखा सेवा लिएका छन् । तीमध्ये ११ हजार ४८ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

नेपाल नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्दको प्रमुख आतिथ्य तथा भरतपुर आँखा अस्पतालका अध्यक्ष दयाराम श्रेष्ठको अध्यक्षता सञ्चालित सो दुईदिने कार्यक्रममा शाखाहरूको वार्षिक प्रगति समीक्षा, सेवा विस्तार, आगामी कार्ययोजना तथा आँखा स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया