तुलादान गरी देबेन्द्रपुरस्थित शनि मन्दिरलाई ९ हजार ९ सय रुपैंया प्रदान

270
SwadeshPost

माडीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको देबेन्द्रपुरस्थित शनि मन्दिरलाई तुलादानमार्फत ९ हजार ९ सय रुपैंया प्रदान गरिएको छ । माडी नगरपालिका वडा नं. ७, बाउन्डरी निवासी टिकावती अधिकारीले सहस्र चन्द्र पुजा तथा चौरासी सिद्धहरुको पुजाका क्रममा तुलादान गरी मन्दिरलाई सो रकम प्रदान गर्नुभएको हो ।

अधिकारीको यो काम प्रशंसनीय एवं अनुकरणीय रहेको जनाउँदै मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु दानदाता अधिकारीकै निवासमा पुगी उहाँलाई दोसल्ला ओढाइ सम्मान गरेका छन् । यसअघि, माडी नगरपालिका–७ देबेन्द्रपुर निवासी नरेश्वर पौडेलले पनि चौरासी पुजनकै सन्दर्भमा तुलादान गरी शनि मन्दिरलाई रु आठ हजार दान गर्नुभएको थियो । मन्दिरलाई महत्वपूर्ण धार्मिक सम्पदा तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न उहाँहरुजस्ता दानदाताहरुले दिएको दानले महत्वपूर्ण सहयोग पुगेको जनाउँदै शनि मन्दिरका संरक्षक युवा पण्डित सुदर्शन सुवेदीले यसको अनुकरणका लागि सबैलाई अनुरोध गर्नुभएको छ ।

यसैबिच, शनि मन्दिर परिसरमा निर्माण हुन लागेको १०८ शिवलिङ्ग स्थापनाको काम सुरुवात भएको छ । मन्दिरमा शिवलिंग स्थापनाका लागि माडीसंगै देशभरका १०८ दानदाता व्यक्ति एवं संस्थाहरुले आठ/आठ हजार रुपैंयाका दरले दान गरेका छन् । केहि दिनअघि प्रदेश नं. ३ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले शिवलिंग स्थापना कार्यको शिलान्यास गर्नुभएको थियो । आउँदो शिवरात्रीसम्ममा सम्पूर्ण कामहरु पुरा गरी उद्घाटन गरिने संरक्षक सुवेदीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost