सोलार फेन्सको नियमित मर्मतसम्भार हुँदा जंगली जनावरबाट न्युन क्षती

295
SwadeshPost

सोलार फेन्सको नियमित मर्मतसम्भार हुनसके जंगली जनावरबाट जनधन र बालीनालीको क्षती कम हुने गरेको देखिएको छ । सोलार फेन्सको नियमित रेखदेख गरिएको माडीको कल्याणपुरमा जंगली जनावरबाट बालीनालीको क्षती न्यून भएको देखिएको हो ।

रेवा मध्यवर्ती उपभोक्ता समितिको क्षेत्र रहेको साविकको कल्याणपुरमा गतबर्ष १०० जना भन्दा बढी किसानहरुको बालीनालीको क्षती पुगेकोमा सोलार फेन्सको नियमित मर्मतसम्भार गरिएसंगै यस बर्ष हालसम्म १७ जनाको मात्रै बालीनाली क्षती भएको उजुरी परेको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिको क्षेत्रमा पर्ने गौरीनगर र रतनी क्षेत्रमा बालीनालीको क्षती भएपनि त्यसबिचमा भने जंगली जनावरहरु प्रवेश नगरेको रेवा मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव सुर्यकान्त खनालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

रेवा मध्यवर्ती उपभोक्ता समितिले सोलार फेन्सको नियमित रेखदेख र मर्मतसम्भारका लागि ३ जना तलबी हेरालो खटाएको छ । सोलार फेन्सको दुरी अनुसार दुईजनालाई ५÷५ हजार तथा एकजनालाई ३ हजार रुपैंया मासिक पं्रदान गरी समितिले हेरालोका रुपमा खटाएको हो । हेरालोहरुले सोलार फेन्स चलाउने र बन्द गर्ने कामका साथै त्यसको नियमित मर्मतसम्भार तथा फेन्स वरपरका झाडी फाँड्ने काम गर्दै आएका छन् ।

सोलार फेन्ससंगै कल्याणपुर क्षेत्रमा उच्च ड्याम निर्माण गरिएको छ भने ड्यामको दक्षिणपट्टी पोखरीहरु खनिएका छन् । सो संरचनाहरुका कारण जंगली हात्ती र गैंडासंगै अन्य साना जनावरहरुको जंगलतिरै फर्किने गरेको देखिएको समितिका कार्यालय सचिव खनालको भनाई छ । यसपटक धानबालीमा क्षती नभएसंगै त्यस ठाउँका किसानहरुले गहुँ खेतीका लागि खनजोत गरी तयारी गरिरहेका छन् । समितिले भने कल्याणपुरको सन्तानेश्वरदेखि रतनी स्कूलसम्म मेसजाली गर्न यसपाली १५ लाख रुपैंयाको थप काम गर्न लागेको छ भने सो क्षेत्रको उच्च ड्याम मर्मतका लागि माडी नगरपालिकाको वडा कार्यालयले २ लाख विनियोजन गरेको छ ।

SwadeshPost