माडीको बिपद् राहत कोषमा आर.आर.एन. नेपालद्वारा ५ लाख रुपैंया बराबरको खाद्य सामग्री सहयोग

687
SwadeshPost

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.) नेपाल तथा साप्लानीर जापानले माडी नगर बिपद् राहत कोषमा रु ५ लाख बराबरको खाद्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी रहँदा दैनिक ज्यालादारीमा निर्भर बिपन्न वर्गलाई सघाउन क्रियाशील सो कोषमा ५ लाख रुपैंया बराबरको चामल, दाल, नुनतेल लगायतका खाद्यसामग्री प्रदान गर्ने निर्णय भएको आर.आर.एन. नेपालका परियोजना प्रमुख रबिन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो । जापानी संस्था साप्लानीरको सहयोगमा आर.आर.एन.ले विगत लामो समयदेखि माडी क्षेत्रमा जल उत्पन्न प्रकोप व्यवस्थापनका विभिन्न सामुदायिक परियोजनाहरु सञ्चालन गरिरहेको छ ।

त्यसैगरी कोषमा बघौंडा मध्यवर्ती उपभोक्ता समितिबाट रु १५ हजार, माडी बंगुर व्यवसायी संघबाट रु. ५ हजार र माडी-२ भैरवपुर निवासी हरिभक्त श्रेष्ठबाट रु.५ हजार ५५५ प्रदान भएको छ । कोषले हाल माडी नगर क्षेत्रभर खाद्यसामग्री वितरण कार्यलाई तीब्र बनाएको छ । माडी नगरपालिकाका ९ वटै वडा कार्यालयहरुले उपलब्ध गराएको अति बिपन्न परिवारको सुचीका आधारमा हरेक वडामा राहत बाँडिरहिएको कोषका संयोजक एवं रेडक्रसकर्मी भागिरथ बस्यालले जनाउनुभयो ।

SwadeshPost