कोरोना संक्रमितहरुको उपचारमा माडी नगरपालिकाकाे प्रशंसनिय काम

142
SwadeshPost

माडी नगरपालिकाले नगर क्षेत्रका कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरेको बघौंडा अस्पतालको आइसोलेशन केन्द्रलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । माडी क्याम्पसभित्र बनाइएको आइसोलेशन केन्द्रमा हाल ७ जना कोरोना संक्रमितहरुको क्लोज अब्जर्भेशनमा उपचार भइरहेको छ । संक्रमण देखिएपछि आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने माडी, चितवन जिल्लाकै एकमात्र नगरपालिका हो ।

सो आइसोलेशनका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजले १० थान बेड उपलब्ध गराएको छ । कलेजले ७ लाख रुपैंयामा खरिद गरी सो शैय्या नगरपालिकालाई हस्तान्तरण गरेको हो । कलेजले स्वास्थ्य उपचारमा आवश्यक सहयोगको आश्वासनसमेत दिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी, सो आइसोलेशनको सहयोगार्थ युवा समाजसेवी श्रीप्रसाद दवाडीले रु ५००० नगद प्रदान गर्नुभएको छ । बैवाहिक बर्षगाँठको अवसर पारी दवाडीले माडीका नगरप्रमुख ढकाललाई सो सहयोग हस्तान्तरण गर्नुभएको हो । त्यस्तै बसन्तपुर युथ क्लब, माडी क्याम्पस, होटल व्यवसायी संघ माडी र मालपोत कार्यालय माडीसंगै स्वास्थ्यकर्मी जोडी लोक बहादुर क्षेत्री र अमृता क्षेत्रीले समेत सहयोग प्रदान गर्नुभएको माडी नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो ।

SwadeshPost