कोरोना संक्रमण रोक्ने प्रयासमा अन्यत्रबाट माडीमा प्रवेश तथा माडीबाट बाहिर जान बन्द

माडीभित्र अत्यावश्यक कामबाहेक एक वडाबाट अर्को वडामा जान आउन निशेध

237
SwadeshPost

चितवन । कोरोना भाइरसको संक्रमण थप फैलिन रोक्ने प्रयासमा आज सोमबारदेखि अन्यत्रबाट माडीमा प्रवेश तथा माडीबाट बाहिर जान दिन बन्द गरिएको छ ।

माडी नगरस्तरीयका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले जनस्वास्थ्य बाहेक अन्य कुनै बहानामा पनि माडीबाट बाहिरिन र माडीमा भित्रिन बन्द गरेको हो । यसका लागि कसरा पोस्ट र बगहीँ पोस्टमा सेनाको सहयोगमा स्वास्थ्यकर्मी सहितको टोली खटाइएको जनाइएको छ ।

त्यसैगरी, माडीभित्र अत्यावश्यक कामबाहेक एक वडाबाट अर्को वडामा जान आउन निशेध गरिएको छ । वार्डभित्रै, एक टोलबाट अर्को टोलमा हिँडडुल नगर्न तथा चोक चौतारोमा भेला नहुन पनि आह्वान गरिएको समितिले जनाएको छ । जरुरी खाद्य सामग्री घर नजिकैको पसलबाट खरिद गर्न र अनावश्यक रुपमा बजारमा पुगी भीड नबढाउन पनि समितिले अनुरोध गरेको छ । माडी क्षेत्र कोरोनाको अति जोखिममा रहेको र समुदायस्तरमा कोरोना फैलिएकाले गम्भीर र सचेत बन्न समितिले नगरवासीहरुमा सार्वजनिक आह्वान गरेको हो ।

SwadeshPost