मेयर ढकालद्वारा प्रधानमन्त्री ओली सामु माडी सम्बन्धी तीनवटा अध्यादेश ल्याउन आग्रह

195
SwadeshPost

२६ बैशाख, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले प्रधानमन्त्री के.पी. ओलीसामु ‘चितवन राष्ट्रिय निकुञ्ज सिर्जित समस्या’, ‘बाँदरझुला लगायतका सुकुम्बासी बस्तीहरुको व्यवस्थापन’ र ‘अयोध्याधाम घोषणा’ सम्बन्धी अध्यादेश ल्याउन आग्रह गर्नुभएको छ ।

एकपछि अर्को अध्यादेश ल्याउँदै सरकार चलाइरहनुभएका प्रधानमन्त्री ओलीलाई (व्यङ्ग्य मिश्रित?) आग्रह गर्दै नगरप्रमुख ढकालले माडीका समस्याहरु समेत अध्यादेशबाटै हल गरिदिन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले उद्घोष गरी माडीलाई अयोध्याधामको रुपमा विकास गर्न चाहनुभएको र मुर्ती स्थापना गर्नुभएकोमा माडीबासीहरु खुसी भएपनि रामधाम निर्माणका लागि मन्त्रीपरिषद्को बैठकले जमीनको निणर्य गर्न बाँकी नै रहेकाले अध्यादेशबाटै भएपनि अयोध्याधाम घोषणा गरिदिन उहाँको अनुरोध छ ।

त्यसैगरी निकुञ्ज ऐनको शंसोधन र माडीको सुकुम्बासी समस्या समाधानका लागि आफूहरु पटक पटक डेलिगेशन गएपनि कुनै उपलब्धी नदेखिएको भन्दै मेयर ढकालले समस्याको निकास हुनुको साटो उल्टै जनताको घर जलाइएको टिप्पणी गर्नुभयो । यस्तो अवस्थामा धेरै बिषयहरु अध्यादेशबाटै हल गर्नुभएका प्रधानमन्त्रीले चितवन राष्ट्रिय निकुञ्जका कारण सिर्जित समस्या तथा बाँदरझुला लगायतका सुकुम्बासी बस्तीहरुको व्यवस्थापनको बिषय समेत अध्यादेशबाटै हल गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभएको हो ।

SwadeshPost