माडीका स्वेच्छिक सहयोग संकलनबाट एकैसाथ दुईवटा एम्बुलेन्सहरु सञ्चालनमा आउँदै

230
SwadeshPost

३० बैशाख, चितवन । माडी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीहरुको स्वेच्छिक सहयोगबाट एकैसाथ दुईवटा एम्बुलेन्सहरु सञ्चालनमा आउन लागेका छन् ।

एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले जानकारी दिनुभयो । दुईवटै एम्बुलेन्सको खरिद अन्तरगत भन्सार छुटका लागि सामाजिक विकास मन्त्रालयबाट सिफारिस भइसकेको र आउँदो सोमबार स्वास्थ्य मन्त्रालयमा बस्ने बैठकले यससम्बन्धी निर्णय गर्ने गौतमले जनाउनुभयो ।

सो एम्बुलेन्सहरु खरिदका लागि माडीका शिक्षकहरुले ३ दिनको तलब रकम उपलब्ध गराएका छन् । त्यसैगरी माडी नगरपालिकामा कार्यरत कर्मचारीहरुले न्यूनतम् ५ दिनको तलब सहयोग गरेका छन् भने कार्यपालिका सदस्यहरुले न्यूनतम् रु. ५ हजार प्रदान गरेका छन् । त्यस्तै, मेयर ठाकुर ढकाल, पूर्व प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, सबै वडाध्यक्षहरु र जनस्वास्थ्य संयोजक शिव सुवेदीले कम्तीमा १/१ महिनाको पारिश्रमिक उपलब्ध गराउनुभएको छ ।

नगरपालिकाको छैठौं नगरसभाका क्रममा जनप्रतिनिधी र कर्मचारीहरुले सहयोग संकलन मार्फत एम्बुलेन्स खरिद गरी निःशुल्क वा स्वेच्छिक सहयोग रकम लिएर चलाउने सहमती गरेका थिए ।

SwadeshPost