माडी नगरपालिकाले ५० लाख रुपैंया रकमान्तर गरी कोरोना नियन्त्रणमा लगाउने

478
SwadeshPost

२ जेठ, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले ५० लाख रुपैंया रकमान्तर गरी कोरोना संक्रमण नियन्त्रणमा लगाउने निर्णय गरेको छ ।

शनिवार सम्पन्न कार्यपालिका बैठकले चालू आर्थिक बर्षको संघीय योजना रकमान्तर गरी स्वास्थ्य शीर्षकमा खर्च गर्ने निर्णय गरेको हो । रकमान्तर गरिएको रकमबाट स्वास्थ्यकर्मीहरुका लागि भाडामा गाडी सञ्चालन, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन थप सेवा सुबिधा प्रदान गर्ने र नगर क्षेत्रमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउने निर्णय गरिएको छ ।

त्यसैगरी हाल कोरोना संक्रमितहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको एम्बुलेन्सको मासिक भाडा ४५ हजार समेत रकमान्तर गरिएकै रकमबाट भुक्तानी गर्ने निर्णय गरिएको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो ।

यसबाहेक कार्यपालिकाले परुई नदी किनारमा तटबन्धन निर्माणका लागि रु ४ लाख विनियोजन गर्ने समेत निणर्य गरेको छ । परुई नदीको सिरानमा बनेको ताल फुटेर हालै आकस्किम बाढी आई परुई किनारको चेपाङ बस्ती छेउसम्मै कटानी गरेको सन्दर्भमा सो तटबन्धन गर्न लागिएको हो । सो खोलामा राष्ट्रपति चुरे मधेश संरक्षण कार्यक्रमले भू-संरक्षणको ठूलो परियोजना सञ्चालन सुरु गरेकोमा नगरपालिकाले तटबन्धनमार्फत आफ्नो तर्फबाट लागत सहभागिता जनाउन लागेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost