माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापित

292
SwadeshPost

२० असार, चितवन । माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापना भएको छ ।

दराई जातीको भेषभूषा, संस्कृति, दैनन्दिन उपयोगका सामग्रीहरु तथा वाङ्मयसंग सम्बन्धित पुराना र दुर्लभ सामग्रीहरुको संकलन, संरक्षण र प्रदर्शनीको उद्देश्यसहित माडी-५, रमाइलोडाँडामा दराई सामुदायिक भवन सहितको संग्रहालय स्थापना भएको हो ।

माडी नगरपालिकाको चालू आर्थिक बर्षको ५ लाख र अघिल्लो आर्थिक बर्षको ५ लाख रुपैंया बजेट तथा दुबै बर्षमा गरी करीब १० लाख रुपैंया जनश्रमदानबाट सो सामुदायिक भवन एवं संग्रहालय निर्माण गरिएको दराई युवा अगुवा राजमान दराईले जनाउनुभयो । नेपाल दरै उत्थान समाज, माडी नगर समितिमार्फत निर्माण भएको सो संग्रहालयमा अब भित्री साजसज्जा र प्रदर्शन सामग्री संकलन लगायतको काम बाँकी रहेको उहाँले बताउनुभयो ।

यसैबिच, रमाइलोडाँडा क्षेत्रमा दराई सामुदायिक होमस्टेको निर्माणकार्य समेत सम्पन्न भएको छ । हालसम्म २ वटा होमस्टे पूर्ण तयार भई सञ्चालनमा आइसकेको, २ वटाको निर्माणकार्य अन्तिम समयमा पुगेको र एक वटा निर्माणको क्रममा रहेको होमस्टे व्यवस्थापन पक्षले जनाएको छ ।

SwadeshPost