सार्वजनिक सवारीको भाडा नबढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको अनुरोध

394
SwadeshPost

२ श्रावण, चितवन । माडीसहित चितवनका स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सचेत बनाएको छ ।

शनिबार दिउँसो चितवनका यातायात कम्पनीका प्रतिनिधिहरुलाई ट्राफिक कार्यालयमा बोलाइ एकपक्षीय रुपमा भाडादर नबढाउन ट्राफिक कार्यालयले सचेत बनाएको हो । जिल्लाभित्र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधनमा मनपरी भाडा उठाएको र मालसामानको ढुवानी भाडा बढाएको गुनासो आएको भन्दै ट्राफिक कार्यालयले यातायात व्यावसायीहरुलाई भाडा नबढाउन सचेत गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सवारी भाडा बढाउने निर्णय गरेको आधारमा यातायात कम्पनीहरुले आन्तरिक परिपत्रबाटै भाडादरमा २६ देखि २८ प्रतिशतसम्म बृद्धि गरेका थिए । केन्द्र सरकारले बढाएको भाडादर दुई प्रदेशबिच चल्ने लामा तथा मझौला रुटको सवारीको हकमा मात्रै लागु हुने व्यवस्था छ । प्रदेशभित्र स्थानीय रुटमा चल्ने सवारीको हकमा भने प्रदेश सरकारे मात्रै भाडादर तोक्न पाउने व्यवस्था रहेकोमा वागमती प्रदेशमा हालसम्म भाडादर समायोजनको निर्णय भएको छैन ।

SwadeshPost