माडीका उद्योगी व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत प्रशिक्षण दिइएको

168
SwadeshPost

६ असार, चितवन । माडी क्षेत्रमा पसल, व्यवसाय र घरेलु तथा साना उद्योग सञ्चालन गरिरहेका माडीका उद्योगी व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत प्रशिक्षण (कर शिक्षा) दिइएको छ । उद्योग वाणिज्य संघ माडीको आयोजनामा माडी क्याम्पसको सभाहलमा कर सम्बन्धी अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल (तुलसी) आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थी र कर अधिकृत सञ्जय सरदार लगायतले माडीका व्यवसायीहरुलाई कर सम्बन्धी प्रशिक्षण दिनुभएको हो ।यसैबिच, कर प्रशिक्षणका क्रममा माडी आएको आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृत र कर्मचारीहरुले माडीको मुख्य र भित्री बजारहरुको अनुगमन समेत गरेका छन् ।

माडी प्रहरीको सहयोगमा भएको सो अनुगमनका क्रममा व्यवसाय दर्ता रहे–नरहेको तथा कर चुक्ता र कारोबारको अवस्थाबारे संक्षिप्त सर्भेक्षण गरिएको थियो । सर्भेक्षणका क्रममा दर्ता नभई सञ्चालनमा रहेका व्यवसाय र फर्महरुलाई आउँदो साउन ९ गतेभित्र व्यवसाय दर्ता गरिसक्न सुझाव दिँदै श्रावण ९ गते माडीमा कर दर्ता र भुक्तान शिविर सञ्चालन हुन लागेको जानकारी गराइएको थियो ।

SwadeshPost