कोरोना संक्रमण बढेसंगै माडीमा नियन्त्रणका उपायहरुको कार्यान्वयनमा कडाई गरिने

341
SwadeshPost

चितवन । माडी क्षेत्रमा कोरोना संक्रमण निरन्तर बढ्न लागेसंगै नियन्त्रणका उपायहरुको कार्यान्वयनमा कडाई गरिने भएको छ ।

नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले मास्क लगाउन, भौतिक दुरी राख्न र स्यानिटाइजरको उपयोगमा पुनः कडाई गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक बसमा सिट भन्दा धेरै यात्रु राखे, यात्रुहरु कसैले मास्क नलगाएको भेटिए र स्यानिटाइजर प्रयोग नभएको पाइए सम्बन्धित सवारीलाई जरिवाना सहित कारवाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै, पसल, व्यवसाय, बैंक, सहकारी र अन्य कार्यालयहरुमा समेत सुरक्षाको मापदण्ड अनिवार्य गरिएको छ भने कार्यान्वन नगर्नेलाई जरिवाना सहित कारवाही हुने भएको छ । यसबाहेक अस्पतालमा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने, संक्रमितहरुको घरभेट पुनः सुचारु गर्ने, संक्रमितहरुका लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरी बसमा यात्रा गर्न पूर्णत बन्द गराउने र जनचेतनामूलक प्रचार प्रसार सुचारु गर्ने लगायतका निर्णय भएको समितिले जनाएको छ ।

SwadeshPost