फोटो र भिडियो खिँच्ने क्रममा चिप्लिएर मध्यपूर्वी माडीको बैकुण्ठे तालमा एक पुरुष बेपत्ता

200
SwadeshPost

चितवन । फोटो र भिडियो खिँच्ने क्रममा चिप्लिएर मध्यपूर्वी माडीको बैकुण्ठे तालमा एक पुरुष बेपत्ता भएका छन् ।

घटस्थापनाको बिदाको अवसर पारी बिहीबार दिउँसो माडी-८, बैकुण्ठे तालमा घुमफिर गर्न पुगेका रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ७, रानीमाला निवासी अन्दाजी बर्ष ३१ का थमन के.सी. तालमा डुबेर बेपत्ता भएका हुन् ।

पूर्वी माडीमा निर्माणाधीन हुलाकी सडकको पेटी निर्माण कार्यमा खटिएको समूहका सदस्य रहेका उनी आफ्ना सहकर्मी साथीहरुसंगै बैकुण्ठ ताल क्षेत्रमा घुम्न गएका थिए । त्यस क्रममा तालको किनारमा उभिएर फोटो तथा भिडियो खिच्न लाग्दा चिप्लिएर उनी र उनको फोटो खिच्दैगरेकी सहकर्मी मनकुमारी पुनमगर पानीमा डुबेका थिए ।

पानीमा खसेका दुईमध्ये पुनमगर पौडिएर बाहिर निक्लन सफल भएकी थिइन । के.सी. भने पानीमै डुबिरहेको हुँदा पानीमित्रै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी र स्थानीयबासीको विश्वास छ, तर शव भेटिइनसकेकाले यसको पुष्टी भने हुन बाँकी नै छ ।

घटनास्थलमा रहेको प्रहरीले के.सी.संगै घुम्न गएका अन्य ६ जनालाई सोधपुछ गरेको छ । जनपथ र शसस्त्र प्रहरीको टोलीले बेपत्ता के.सी.को खोजी गरिरहेको माडी प्रहरी प्रमुख झलक शर्माले जानकारी दिनुभयो । 

SwadeshPost