चितवनको माडी पौहारीका बाढी पीडितहरु बर्षौंदेखि घरबारविहीन

141
SwadeshPost

विस्थापित भएको बर्षौं वितिसक्दा पनि आफूहरुलाई सरकारले बसोबास स्थलको व्यवस्था नगरेको भन्दै माडीको पौहारीका बाढीपीडितहरुले दुखेसो गरेका छन् । २०६७ साल भदौ ८ गते मगुई र रीउ खोलामा आएको भीषण बाढीका कारण विस्तापित भएका उनीहरु हाल माडी माध्यमिक बिद्यालयको खाली चौरमा अस्थायी घर तथा कटेरो बनाई आश्रय लिइरहेका छन् ।

“करीब ७ बर्ष हुन लाग्यो, सरकारबाट न राहत पाइएको छ, न त उचित व्यबस्था नै गर्छ ।” एक पीडित सीता नेपालीले बताउनुभयो । “कस्सो बाँचेर यहाँ आयौ, घरजग्गा अनि बाख्राभैंसी आँखा अगाडी लग्यो, धन्न बाँच्न सफल भइयो । त्यो दिन सम्झदा अझै पनि आङ सिरिङ हुन्छ ।” “बाध्यताले स्कुलको जग्गामा आएर बसियो, अब यहाँबाट अन्तै जाओ भन्छ”, अर्की पीडित शान्ती महतोले भन्नुभयो । “करिब २ बिगाहा जमीन खोलामा परिणत भयो, अहिले घर बनाउन एक टुक्रा ठाउँपनि छैन”, अर्का पीडित सिखराज महतोको भनाई । सरकारले पीडितका लागि उचित बासस्थानको व्यबस्था नगरेसम्म शिविरटोल नाम दिइएको उक्त चौरबाट नहट्ने उनीहरुको अडान छ । अन्यत्र ठाउँ नभए पौहारीमै बाढी नियन्त्रण तथा तटबन्धन गरी बस्तीमा बाढी नपस्ने गरी दीर्घकालिन रोकथाम गरिदिए पुनः पहिलेकै ठाउँमा फर्कन तयार रहेको उनीहरु बताउँछन् ।

उता, माडी माध्यमिक बिद्यालय प्रशासनले भने परिस्थितिगत प्रतिकूलताका कारण बाढीपीडितहरुलाई हालसम्म अस्थायी रुपमा बसोबास गर्न दिइएपनि आउँदा दिनमा बस्न दिन नसकिने जनाएको छ । राजैतिक दलीय संयन्त्रमा जग्गा खाली गराउने सहमती भएको बिद्यालयका प्रधानाध्यापक चुडामणी तिवारीले बताउनुभयो ।

आफूसंग भएको सबै घर जग्गा बगाएपछि पौहारीका अधिकांश बाढीपीडित हाल अर्काको बनिहारा गरेर जिवन चलाउँछन् । राज्यले बस्नेमात्र ठेगाना लगाइदिए तुरुन्तै शिविरटोल छोडेर जाने उनीहरुको भनाई छ । माडीमा मात्र १२ भन्दा बढी खहरे खोलाहरु भएका कारण प्रत्येक बर्ष बाढीका कारण विस्थापित हुनेको संङख्या थपिदै गएको छ । बाढी पीडीत संघर्ष समिति, पौहारीका संयोजक राजकुमार नेपालीले सहयोग माग्नका लागि जिबिस देखि मन्त्रालयसम्म पुगेपनि कुनै सुनुवाई नभएको बताउनुहुन्छ ।

SwadeshPost