धलोरहित बाटोको नमुना अध्ययनका लागि भारत पुगेको माडीको टोली स्वदेश फर्कियो

221
SwadeshPost

चितवन । निकुञ्जभित्र निर्माणको प्रस्ताव गरिएको धुलोरहित बाटोको नमुना अध्ययनका लागि भारतको हैदराबाद पुगेको माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल नेतृत्वको टोली स्वदेश फर्किएको छ ।

ए.पि.एस. स्वायल स्टाबलाइजरको प्रयोगबाट हैदराबादमा निर्माण भइरहेको सडकको अध्ययन, अवलोकन तथा प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरी टोली फर्किएको हो ।

नेपाल प्रवेश गरेसंगै स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले नमुनाको रासायनिक प्रतिक्रिया, गुणस्तर, टिकाउ क्षमता र वातावरणीय प्रभाव मुल्याङ्कन गरी काम अगाडि बढाइने बताउनुभयो । प्रारम्भीक अध्ययनमा ए.पि.एस. स्वायल स्टाबलाइजरको प्रयोगबाट बनेको सडक अस्फाल्ट प्रविधिको कालोपत्रेकै गुणस्तरको हुने, पानी नछिर्ने र वातावरणमैत्री हुने देखिएको उहाँको भनाई छ ।

टोलीमा नगरप्रमुख ढकालसंगै निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका लाक्पा शेर्पा, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेल, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम, वडाध्यक्ष रामबन्धु पोखरेल र सडक ईञ्जिनियर विकास कुमार सिंह लगायत रहनुभएको थियो ।

SwadeshPost