माडी १ मा रहेको वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

झोलुङ्गे पुल निर्माण सकिए पनि आश्रमसम्म पुग्ने बाटो निर्माण कार्य जारी

617
SwadeshPost

चितवन । माडी नगरपालिका वडा नं. १ मा रहेको पवित्र वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

नारायणी नदीमा पूर्वी नवलपरासीको त्रिवेणीधाम र चितवनको माडी जोड्ने झोलुङ्गे पुल निर्माणको काम सकिएसँगै पवित्र धार्मिकस्थल वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको हो ।

पुल निर्माण सकिएसँगै नेपालका दुई महत्वपूणर् धार्मिक क्षेत्र त्रिवेणीधाम र वाल्मीकि आश्रम झोलुङ्गे पुलमार्फत जोडिएका हुन् । यद्यपि झोलुङ्गे पुल निर्माण सकिए पनि पुलवारी वाल्मीकि आश्रमसम्म पुग्ने बाटो निर्माणको काम भने पुरा भएको छैन ।

हालसम्म वाल्मीकि आश्रम पुग्न हिउँदमा डुङ्गा र वर्षायाममा पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता थियो ।

भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् । पुल निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज हुने र यसले त्रिवेणी र माडी क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पुर्‍याउने विश्वास गर्न सकिन्छ । (रा.स.स.को सहयोगमा)

SwadeshPost